
१४ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्ताव गर्नुभएको छ । पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले दुई उपाध्यक्ष, एक महासचिव ४ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने प्रस्तव गर्नुभएको हो । प्रचण्डको प्रस्तावमा उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीलाई यथावत रहने प्रस्ताव गरिएको छ ।
यसअघि महासचिवको चर्चामा रहेका कृष्णबहादुर महरा र वर्षमान पुनलाई सचिवमा प्रस्ताव गरिएको छ । टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई पनि सचिवमा प्रस्ताव गरिएको छ । पार्टीभित्रको विरोधका कारण एमालेबाट आएका रामचन्द्र झालाई सचिवमा प्रस्ताव गरिएको छैन । कोषाध्यक्षमा हिसिला यमीलाई प्रस्ताव गरिएको छ । एमाओवादीको पदाधिकारीमा महिला समावेश भएको यो पहिलो पटक हो ।
प्रचण्डले एमालेबाट आएको झालाई पूर्ण स्थायी समिति र उर्मिला अर्याललाई बैकल्पिक स्थायी समितिमा प्रस्ताव गर्नु भएको छ । प्रस्तावित पूर्ण स्थायी समितिमा प्रचण्ड पक्षको बहुमत देखिन्छ ।
यस्तै कालीबहादुर खामलाई बैकल्पिक पोलिटब्यूरो र बालकृष्ण ढुंगेललाई पूर्ण केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ । प्रचण्डले केन्द्रीय समिति विस्तारको प्रस्तावमा आफ्नी छोरीलाई पनि समावेश गर्नु भएको छ । प्रचण्डले छोरी रेणुलाई बैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गर्नु भएको छ । वाईसीएल उपत्यका इन्चार्जबाट हटाइएका चन्द्रबहादुर थापा सागरलाई पनि बैकल्पिकमा राखिएको छ ।
पहिले स्थायी कमिटीमा अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्मा बढुवामा परेका छैनन् । यस्तै पोलिटब्यूरो सदस्य चन्द्रप्रकाश खनाल वलदेव, निनु चापागाई, भीमप्रकाश गौतम, नवराज सुवेदी, डिलाराम आचार्य र लीलाबहादुर थापा पनि बढुवामा परेनन् । हेटौंडा महाधिवेशन पूर्व गठित २ सय ४० सदस्यीय महाधिवेशन आयोजक समितिबाट पूर्ण केन्द्रीयमितिमा नपरेका सदस्यहरु बैकल्पिक केन्द्रीय सदस्य बनेका छन् ।
प्रचण्डको प्रस्तावमा व्यापक असन्तुष्टी
प्रचण्डले प्रस्ताव गरेको नामावलीमा जनमुक्ति सेनाका डिभिजन कमाण्डरहरुले तिब्र असन्तुष्टी जनाउँदै सेनामाथि अपमान गरिएको गुनासो पोखेका छन् । स्रोतका अनुसार बैठकमा बोल्दै दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, शक्ति बस्नेत, कृष्ण केसी, शशी श्रेष्ठ र मुक्ति खनालले समेत असन्तुष्ट व्यक्त गरेका छन् । स्थायी समिति सदस्य दीनानाथ शर्माले ६५ वर्षे लगाएर आफूलाई आराम गर्न दिन माग गर्नुभयो । त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यमा सीमित भएको भन्दै युवराज चौलागाई, बलराम तिम्सिना, बुद्धिमान माझी, हेमराज भण्डारी, आरसी शर्मा र सुस्मा शर्मा लगायत करिव २ दर्जन नेताहरुले पनि प्रस्तावको विरोध गरेका छन् ।
प्रचण्डको प्रस्तावमा २५ पूर्ण र ७ वैकल्पिक गरी ३२ सदस्यीय स्थायी कमिटीको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी ५० पूर्ण र २५ बैकल्पिक गरी ७५ जना पोलिटब्यूरो सदस्यको नाम प्रचण्डले बैठकमा प्रस्तुत गर्नुभएको छ । केन्द्रीय समितिमा १ सय ५१ पूर्ण र गरी २ सय ९९ सदस्यीय केन्द्रीय समितिको नामावली प्रचण्डले प्रस्तुत गरेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

0 comments
Post a Comment