
दोहा, असार १२ - विश्वकै धनी कतारका अमिर शेख हमाद बिन खालिफा अल थानीले उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गरेका छन् । उनले मंगलबार बिहान ८ बजे कतारी टेलिभिजनबाट जनतालाई सम्बोधन गर्दै ३३ बर्षे उत्तराधिकारी शेख तमिम बिन हमाद अल थानीलाई सत्ता सुम्पेको घोषणा गरेका छन् ।
अमिर हमादले १९९५ मा राजकुमार तथा रक्षा मन्त्री हुदा बुबाबाट सत्ता लिएका थिए । ६१ बषिर्य अमिर हमादले टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै भने, 'म पुर्ण रुपमा बिश्वस्त छु कि उनले यो जिम्मेवारीलाई निर्धक्कका साथ उठाउन सक्छ । यसको लागि सक्षम छ । हाम्रो लक्ष्यलाई पुरा गर्न सुहाउदो पनि छ ।'
प्रत्यक्ष सम्बोधन सकिएपछि अमिर हमाद र उसका छोरा तमिम प्रसन्न थिए । सम्बोधन गर्नुअघि अमिर हमादले राजकीय परिवार र कतारी समाजका उच्च सदस्यहरुलाई भेटेका थिए । अमिर हमादलाई कुशल राजनेता, कुटनीतिमा निकै सक्षम, अरब राजनीतिलाई स्थिर राख्न कुशल खेलाडीको रुपमा आफुलाई स्थापीत गरेको अलजजिराले जनाएको छ ।
'उनले शासन शुरु गर्दा देशका अर्थतन्त्र ८ बिलियन डलर थियो । त्यसलाई बढाएर एकसय ७४ बिलियन डलरमा पुर्याएका छन्', अलजजिराले भनेको छ,'उनले प्रतिष्ठासँग जोडिएको अरबको पहिलो स्याटलाइट टेलिभिजन अलजजिरा र कतार एयरवेज जस्ता प्रोजेक्ट शुरु गरेका थिएँ ।'
अमिर हमादले शेख तमिमलाई २००३ मा उत्तराधिकारी घोषणा गरेका थिए । उनी अमिर हमादको चौथो छोरा हुन् । कुटनीतिकहरुले अमिर हमादले राज्यलाई युवा नेता दिएर बिश्वलाई नयाँ सन्देश दिएको बताएका छन् । १९८० मा जन्मिएका उत्तराधिकारी तमिम अमिर हमादका दोश्रो पत्नी शेखा मोजाका छोरा हुन् । उनका दाईले छोडिदिएपछि तमिम उत्तराधिकारी भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेलायती शिक्षा लिएका उत्तराधिकारी शेख तमिम हाल सेनाका डेपुटी कमाण्डर हुन् । उनी नेशनल ओलम्पीक समितिका अध्यक्ष हुन् । जसले २०२२ मा फिफा वल्डकप कप खेलाउदैछ । उनी 'कतार भिजन २०३०'को अध्यक्ष पनि हुन् । यसले २०३० सम्म कतारलाई एउटा उचाइ पुर्याउने लक्ष्य सहित काम गरिरहेको छ ।
'कुटनीतिकका अनुसार बिगत तीन बर्षदेखि बिस्तारै अमिरले तमिमलाई सेना र सुरक्षाका जिम्मेवारीहरु हस्तान्तरण गर्दै आएका थिए', बिबिसिले भनेको छ ।
बुधबारसम्म शेख तमिमले सपथ ग्रहण गरेर कतारी जनताले नयाँ राजा पाउने सम्भबाना छ । नयाँ मन्त्रीपरिषदमा धेरै जसो युवा मन्त्रीहरु रहने सम्भाबना छ । कतारको परराष्ट्र मन्त्रालयमा कार्यरत युसुफ इशाले अमिर हमादको शासनकालमा कतारले एकसय प्रतिशत परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् ।
0 comments
Post a Comment