
२ असार, धरान । राजनीतिक दलहरुका लागि बन्द हड्ताल सामान्य विषय हुन् । आन्दोलनका अन्य चरणहरु पार गरिसकेपछि अन्तिम अस्त्रका रुपमा मात्र प्रयोग गरिने बन्द हड्ताल अहिले सानो निउँमा पनि आयोजना हुन थालेको छ । त्यसैले भर्खरै नेपाली राजनीतिमा स्थापित हुने अभ्यास गरिरहेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका लागि धरानमा बन्दको बेग्लै महत्व देखिएको छ ।
३३ दलको संयुक्त बन्द भए पनि संघीय समाजवादीका लागि यो पहिलो बन्द हो । एमाले लगायतका दलहरुलाई आफ्नो शक्ति देखाउन पनि समाजवादीका कार्यकर्ता बन्द सफल पार्न खटिरहेका छन् । समाजवादीका जिल्ला तह, नगर तहका नेता कार्यकर्ता नै बन्द गराउन सक्रियतापूर्वक खटेका छन् । शनिबार बन्दको पूर्वसन्ध्यामा धरानमा निकालिएको राँके जुलुसमा पनि समाजवादीले कार्यकर्तालाई उर्दी जारी गरेर कार्यकर्तालाई सक्रिय गराएका थिए । समाजवादीका एक नगरस्तरीय नेताका अनुसार उनीहरुका लागि यो बन्द इज्जतको सवाल हो ।
समाजवादीका कार्यकर्ता बजारमा सक्रिय भएपछि धरानबाट पूर्व तथा पश्चिम चल्ने कुनै यातायातका साधन चलेनन् । पहाडी क्षेत्रमा चल्ने साधन पनि कुनै चलेनन् । धरान बजार तथा शैक्षिक संस्थाहरु ठप्प भए । बजारमा मोटरसाईकल भने चलिरहेका छन् । इटहरी, विराटनगर, इनरुवा, दमक, विर्तामोड लगायत पूर्वका अन्य बजार पनि ठप्प छन् । यातायातका साधन नचल्दा सर्वसाधारणहरु समस्यामा परेका छन् । बन्दमा वैद्य माओवादीका साथै कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदको पनि सक्रिय सहभागिता देखिएको छ ।
0 comments
Post a Comment