
काठमाडौ, असार ७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर बाढीका कारण मृत्यु भएको परिवारलाई एक लाख राहत उपलब्ध गराउन आग्रह गरेका छन् । रेग्मीसँगको भेटमा दाहालले बाढी आउँनुको कारण पत्ता लगाउन पनि आग्रह गरे ।
भारतले धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँधको ढोका खोलेका कारण सुदुरपश्चिमका दार्चुलालगायतका जिल्लामा यस्तो समस्या आएको खबर सार्वजनिक भएको थियो । दार्चुलाका स्थानीय राजनीतिक दलले यस्तो निश्कर्ष निकालेका हुन् ।
दाहालले रेग्मीलाई भारतीय पक्षसँग कुरा गरेर सत्यतथ्य पत्ता लगाउँनसमेत आग्रह गरेका छन् । दाहालले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावकारी राहत वितरण गर्नुपर्ने बताएका थिए ।
सरकारले बाढीपहिरोग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी रु ५० करोड छुट्ट्याएर राहत तथा पुनः निर्माणको कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।
दाहालले दार्चुलासहित कालीकोट, कैलाली, कञ्चनपुरलगायतका जिल्ला समेत बाढी प्रभावित भएकाले त्यस अवलोकन भ्रमणमा जान नेपाली सेनाको हेलिकप्टर व्यबस्था गर्न रेग्मीसँग आग्रह गरेको बताइएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले पनि आजै अध्यक्ष रेग्मीलाई भेटेर बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।
0 comments
Post a Comment