
नयाँदिल्ली (एजेन्सीहरू), असार ७ - भारतको उत्तराखण्डस्थित मन्दाकिनी नदी नजिकैको एक पवित्र तीर्थस्थल केदारनाथ मन्दिरको जगवरिपरिका अन्य संरचनाको तुलनामा हजारौं गुणा बलियो छ । वरिपरिका अन्य मन्दिरहरू र भवनमा यस्तो कठोर संरचना नभएको पाइएको छ ।
तुलनात्मक रूपमा निकै बलियो ढुंगे संरचना र एक अर्कासँग बाँधिएको ढुंगेजगले गर्दा बाढीको पानीले मन्दिरलाई बगाउन नसकेको विज्ञहरूले बताएका छन् । कुनै पनि खाले बाढीले उच्च स्तरीय ढुंगाले निर्माण गरिएको उक्त मन्दिरको जगलाई हल्लाउन नसकिने बताइएको छ । फलामजस्तो बलियो भूसतही आधारका कारण मन्दिरमा पूर्णतः क्षति नपुगेको वरिष्ठ भवन निर्माण इन्जिनियरहरूले बताएका छन् ।
यति हुँदाहुँदै पनि जल प्रकोपमा मन्दिरको एक भाग बगेको छ भने मुख्य भागमा पानी र हिलो जम्मा भएको छ । वरिपरिका घर र मन्दिरलाई भत्काउँदै मुख्य मन्दिरसम्म पुग्दा पानीको बहावको गति पनि निकै कम भइसकेको हुनाले उक्त मन्दिरमा कम क्षति पुगेको हो । तर्कशास्त्री र विज्ञहरूले यसलाई कुनै धार्मिक चमत्कार मान्न नसकिने बताएका छन् । धार्मिक चमत्कार भएको भए १ सय ५० जनाको ज्यान जानु नपर्ने, हजारौको विचल्ली नहुनु पर्ने, अन्य मन्दिर र मूर्ति सुरक्षित रहुन पर्ने उनीहरू बताउँछन् ।
सञ्चारमाध्यमले यसलाई धार्मिक चमत्कार भन्दै अन्धविश्वास फैलाउने खालको सूचनाहरू सम्प्रेषण गरेपछि विद्हरू वैज्ञानिक आधार प्रस्तुत गरेका हुन् ।
उत्तरी हिमालय पर्वत शृंखलामा पर्ने उक्त मन्दिर आराध्यदेव शंकरलाई समर्पित गर्दै निर्माण भएको हो । गौरीकुण्डबाट १४ किमि सडक यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । महाभारत कालमा पाण्डवहरूले खडा गरेको यो मन्दिर आदि शंकराचार्यले पूर्णनिर्माण गरेका हुन् । उक्त मन्दिरवरिपरिको क्षेत्रमा पुगेका अपूरणीय क्षतिका कारण कम्तीमा एक वर्षका लागि धार्मिक यात्रा रोकिएको घोषणा उत्तराखण्डका मुख्यमन्त्री विजय बहुगुणाले गरेका छन् । उनले यो जल प्रलयलाई 'हिमाली सुनामी' भनेका छन्
0 comments
Post a Comment