दैलेख, २५ जेठ । लगाएको चप्पलबाट समेत एचआइभी संक्रमण हुन्छ भन्दै निकै हेलाँ गर्ने छिमेकीले अहिले संक्रमतिहरूकै पसलबाट सामान किनेर लग्छन् । श्रीमान्ले भारतमा गरेको असुरक्षित यौन सम्पर्कका कारण अनाहकमै त्यसको संक्रमणमा पर्नुभएकी राकम कर्णाली जाक्सीकी ज्वाला माझी अहिले एकल जीवन बिताउन बाध्य हुनुहुन्छ ।
छोराछोरी पढाउन र अन्य घर खर्च चलाउन सानो व्यवसाय सञ्चालन गर्नुभएकी उहाँको पसलमा सुरु सुरुका दिन कसैले पनि सामान किन्न आएनन् । त्यही व्यवसायकै भरमा छोराछोरीको पठनपाठनदेखि जीवन गुजारा गर्न निकै हम्मेहम्मे परेको उहाँको भनाइ छ ।
उहाँ मात्र हैन, श्रीमान्ले भारतबाटै ल्याएको नासो एचआइभीले श्रीमान्को मृत्यु भएपछि एकल जीवन बिताउन बाध्य हुनुभएकी मनसरा सिजापतीले समेत अहिले सिलाइ कटाइसँगै च्याउखेती सुरु गर्नुभएको छ ।
सुरुमा आफूहरूलाई पानी पँधेरोमा समेत जाँदा हेलाँ गर्ने मान्छेहरूले अहिले समाजमा आफूहरूले उत्पादन गरेको चिजवस्तुहरू खान सुरु गरेकामा उहाँ खुसी हुनुहुन्छ । प्रतिकेजी तीन सयमा बिक्री हुने च्याउ उत्पादनबारे तालिम लिएपछि महिलाको समूह मिलेर खेती सुरु गरेको उहाँले बताउनुभयो ।
राकम कर्णाली, सिगौडी, पिपलकोटलगायतका गाविसका दुई दर्जनभन्दा बढी श्रीमान् गुमाएका सङ्क्रमित एकल महिलाले विगत एक वर्षदेखि महिलामाथि हुने अन्याय र अत्याचारका विषयमा आवाज उठाउँदै आएका छन् ।
एआरभी औषधि खानुपर्ने र औषधि लिन सुर्खेतसम्म जानुपर्ने समस्या अहिले समाधान भएको छ । “औषधि राकम कर्णाली बजारमै पाइन्छ”, मसराले भन्नुभयो – औषधिसँगै पाउने अन्य पौष्टिक आहार नपाएपछि शारीरिकरूपमा समस्या हुँदै गएको छ ।
सरकारले पीडितका लागि अब व्यवसायिक शीपका साथै आर्थिक सहयोग गरिदिए अन्य महिलासमेत समाजमा खुलेर आउने बताइन्छ । भिरालो जमिन र कम उत्पादन हुने जिल्लाका अधिकांश गाविसमा प्रत्येक वर्ष १० हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अभाव हुने गर्छ । अधिकांश पुरुष कमाइ गर्ने महत्वपूर्ण स्थान भारत जाने र त्यहाँ गरिने असुरक्षित यौन सम्पर्कका कारण एचआइभी सङ्क्रमणमा परी अधिकांशले अकालमै ज्यान गुमाउँछन् ।
0 comments
Post a Comment