
वीरगन्ज, असार ३ - बलात्कृत एक युवतीलाई बयान परिवर्तन गर्न प्रहरी अधिकृतको कक्षमै कुटपिट गरिएको छ । पर्साको मुड्ली-५ की युवतीले जिप्रकाका नायब उपरीक्षक वासुदेव खतिवडाको कार्यकक्षमा महिला प्रहरीले आफूलाई लाठीले कुटेको भन्दै कारबाही र न्यायका लागि नारायणी अञ्चल प्रहरीमा आइतबार उजुरी दर्ता गरेकी छन् ।
आमा, बाबु र गाउँका भलादमीसहित आएकी युवतीले आफूलाई अपहरणशैलीमा जिल्ला प्रहरीमा ल्याएर बयान परिवर्तनका लागि दबाब दिएको उजुरीमा उल्लेख गरेकी छन् । जेठ ३ गते सोही गाउँ बस्ने ४० वषर्ीय विनोद साह र विदेशी महतोले राति ९ बजे घर नजिकको गोठमा मुख थुनेर सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि युवतीले रोईकराई गर्दै बाहिर आएपछि आमा, बुबा र गाउँलेले तिनीहरूलाई समात्न खोजेका थिए । भोलिपल्ट इप्रका पोखरियामा उजुरी दर्ता भएपछि महतोलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । साह भने फरार रहेको प्रहरीले जनाएको छ । चिकित्सकले समेत युवती बलात्कृत भएको रिपोर्ट दिएका छन् ।
मुद्दा कमजोर पार्न पीडकका आफन्तले पटक-पटक ज्यान मार्ने धम्की दिएको युवतीले बताइन् । 'कहिले पैसाको प्रलोभन देखाए,' आइतबार उनले भनिन्, 'बयान फेर्न दबाब दिइरहेका छन् ।'
दबाब र प्रलोभनमा नमानेपछि गत जेठ २८ गते गाउँ बाहिर शौच गर्न गएका बेला मोटरसाइकलमा आएका पीडकका समूहले अपहरण गरी पोखरियास्थित एक घरमा ल्याएका थिए । 'बयान फिर्ता लिए २ लाख रुपैयाँ र हिरासतमा रहेका महतोसँग विवाह गराइदिने प्रलोभन दिए,' गहभरि आँसु झार्दै युवतीले भनिन् । कोठामा होहल्ला भएपछि उनीहरूले मलाई बाहिर निकालेर आफू मोटरसाइकल चढेर गए ।
त्यसपछि उनलाई प्यारालिगलकी कान्ति गिरीले सदरमुकामस्थित माइती नेपालको जिम्मा लगाएकी थिइन् । महिलाकै विषयमा इलाका प्रहरी पुग्दा ती युवतीलाई साँझ ६ बजेसम्म एक्लै देखेर माइती नेपाल पुर्याएको प्यारालिगलकी क्षेत्रीय अध्यक्ष गिरीले बताइन् ।
अपहरणसम्बन्धी सोधपुछका लागि शनिबार प्रहरीले बोलाएको थियो । डीएसपी खतिवडाको कोठामा अपहरणबारे बताउँदा सोधपुछ गर्ने महिलाले गलत कुरा भनेको भन्दै झापड हानेको र लाठीले हिर्काएको उनले बताइन् ।
सँगै रहेकी आमालाई समेत पिटको दाबी उनले गरिन् । डीएसपी खतिवडाले अपहरणबारे सोधपुछका लागि युवतीलाई झिकाएको प्रतिक्रिया दिए । 'कुटपिटको आरोप गलत हो,' उनले भने, 'सोधपुछका क्रममा सामान्य तानातान मात्र भएको हो ।'
0 comments
Post a Comment