काठमाडौं , असार ७ - अमेरिकामा टनेल इन्जिनियरिङबाट ख्याति कमाएका भाष्कर थापाको बुधबार साँझ हृदयाघातबाट निधन भएको छ । उनी ४९ वर्षका थिए ।
सन् १९८६ मै प्रसिद्ध कार्नेजी मेलोन विश्वविद्यालयबाट एमएस गरेका थापा सनफ्रान्सिस्को सहरस्थित ज्याकोब्स एसोसिएट्स नामक कम्पनीको उच्चतहमा कार्यरत थिए । नजिकैको ब्रकले सहरमा बस्दै आएका उनी बुधबार साँझ कार्यालयबाट फर्की टेनिस खेलेपछि आराम गर्ने क्रममा अचानक ढलेका थिए । अस्पताल पुर्याउनेबित्तिकै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
अमेरिकाको शिकागो, सनफ्रान्सिस्कोलगायतका सहरमा थापाको डिजाइनमा उच्चप्रविधियुक्त टनेलहरू बनेका छन् । वासिङट्न डीसीमा बसोबास गर्ने एक पारिवारिक स्रोतका अनुसार अन्तिम संस्कारका लागि एक-दुई दिनमै शव नेपाल पठाउने तयारी भइरहेको छ ।
भाष्कर नेपाली कूटनीतिज्ञ भेषबहादुर थापाका छोरा हुन् ।
0 comments
Post a Comment