
महिनावारी
परिचय
स्त्री जातिमा प्राय ९ देखि १५ वर्षको उमेर भित्रमा कुनै पनि वेला पहिलो महिनावारी हुनसक्दछ । जसलाई मेर्नाकी पनि भनिन्छ । कसै कसैको महिनावारी भने यो उमेरभन्दा अघि पछि पनि हुन सक्दछ । हरेक महिनामा हुने भएकोले यसलाई महिनावारी भनिएको हो । रजश्वला, पर सर्ने, छुई लाग्ने जस्ता नामले पनि महिनावारीलाई चिनिन्छ । अघिल्लो महिनावारी भएको २८ देखि ३० दिनमा अर्को महिनावारी हुन्छ र यो हरेकपल्ट दोहोरिरहन्छ । यसरी महिनावारी हुँदा ३ देखि ७ दिनसम्म योनिवाट रगत बगिरहन्छ ।यसरी महिनावारी सुरु भएको पहिलो २ वर्षसम्म महिनावारी गडबढ भईरहन्छ अथवा कहिले एकै महिनामा २ पटक, कहिले २–३ महिनामा एक पटक हुनु स्वभाविक नै हो । यस्तो हुँदा विल्कुल आत्तिनु पर्दैैन किनकी २–३ वर्षमा यो नियमित भएर आउँदछ । हिजो आज विभिन्न कारणहरुले गर्दा महिनावारी चाँडो उमेरमा सुरुवात हुन थालेको अध्ययनले देखाएको छ ।
प्रकृया
महिलाको पाठेघरको दुवै तिर रहेका डिम्व ग्रन्थीहरुले हरेक महिना पालैपालो एक एक वटा वयस्क अण्डा डिम्बनलीमा पठाउँछन् । यसरी आएको अण्डा २ दिनसम्म डिम्बनलीमा बसिरहन्छ । त्यो बेलामा पाठेघरको भित्री सतह रगतले भरिएर वाक्लो हुन थाल्दछ । यस बेलामा यदि अण्डसँग पुरुषको शुक्रकिट भेट नभएमा त्यो अण्डा पाठेघरमा पस्छ । अनि त्यो वच्चा हुर्किनका लागि वाक्लो भएर जमेको पाठेघरको सतहको काम हँुदैन र त्योसतह २ हप्तापछि फुटेर विस्तारै विस्तारै योनिमार्ग भएर बाहिरनिस्कन थाल्दछ । स्वास्नीमानिसमा हरेक महिना हुने यस्तो प्रकृया नै महिनावारी हो ।
ध्यान दिनुपर्ने कुराहरु
प्याड लगाउनु पर्छ– वजारमा हिजो आज सजिलोसँग सेनेटरी प्याड उपलब्ध छ । या घेरैमा सफा र नरम सुती कपडाको प्याड प्रयोग गर्न सकिन्छ । प्याडले महिनावारी हुँदा आउने रगतलाई सोस्ने काम गर्दछ । धेरै स्वास्नीमानिसहरु महिनावारी भएको वेला फोहोर टालाटुली लगाउने गर्दछन् यो चलन एकदमै खतरनाक हुन सक्दछ । महिनावारीमा रगत बगिरहेको वेला यस्ता कपडा ÷ प्याडहरु तीनचार पटक फेरिरहनु पर्दछ । जसले गर्दा गनाउँदैन र बाहिरी लुगामा दाग पनि लाग्दैन । महिनावारी पछि रगत आउन छाडेपछि यसरी लगाइएका प्याडहरु सुरक्षित स्थानमा फाल्नु पर्दछ । कपडाहरु राम्ररी धोएर घाममा सुकाउनु राम्रो मानिन्छ ।
सफा सुग्घरी बस्नुपर्छ – हरेक पटक प्याड फेर्नु अघि योनी तथा वरपरको भाग सफा पानीले राम्रोसँग पखाल्नु पर्दछ र हात सावुन पानीले धुनु पर्दछ । महिनावारी भएको वेलामा पसिना बढी आउने हुँदा नुहाउनु एकदम राम्रो मानिन्छ ।
नियमित कसरत गर्नुपर्छ – नियमित कसरत गर्ने बानी गर्दा जिउका सवै भागहरुमा रगत राम्रोसँग ओहोर दोहोर गर्दछ र फूर्तिलो होइन्छ । कसरतले गर्दा पेटको मांशपेशी बलियो हुन्छ । महिनावारीका वेला कम्मर दुख्ने धेर्रै कम हुन्छ । महिनावारीका बेला अलि अलि तल्लो पेट दुख्नु स्वभाविक हो तर अत्याधिक दुखेमा दक्ष चिकित्सकलाई जचाउनु पर्दछ ।
पोषिला खानेकुरा खानुपर्छ – केटीहरु हलक्क बढ्ने वेलामा र खासगरी महिनावारी भइरहेको वेलामा पोषिला खानेकुराहरु प्रशस्त सेवन गर्नुपर्दछ । पोषिला खानेकुरामा हरिया सागपात, तरकारी, फलफूल, गेडागुडी, माछामासु, दुध, दही पर्दछन् ।
आफ्नो महिनावारीको दिन सम्झिरहुन पर्दछ – आफ्नो महिनावारी हुने दिन सम्झना राख्दा पूर्व तयारी गर्न सजिलो हुन्छ र महिनावारी ठीक ठीक समयमा भएको छ वा छैन भनेर थाहा पाउन सकिन्छ । यसको उद्देश्य महिनावारी ढिलो भएमा वा चाँडो भएमा चिकित्सकको परामर्श लिन जानै पर्दछ ।
सेतो पानी बगेका वेलामा ध्यान दिनुपर्छ
महिनावारी अघि र पछि योनीवाट सेतो पानी वग्ने गर्दछ । यस्तो हुनु साधारण कुरा हो । यस्तो पानी बग्यो भनेर आत्तिनु वा चिन्तित हुनु पर्दैन तर धेरै बगेमा, गनाउने, चिलाउने, पोल्ने भएमा चिकित्सकको परामर्श लिनै पर्दछ ।
महिनावारीबारे फैलिएका गलत कुराहरु
महिनावारी हुँदा बढी अमिलो खानु पर्दछभन्ने चलन गलत छ । अमिलो र महिनावारीवीच केही सम्वन्ध छैन ।महिनावारी हुँदा कपाल नुहाउनु हँुदैन भन्नु एकदम गलत धारणा हो । अरु वेला भन्दा वढी पसिना आउने हुनाले झन् बढी नुहाउनु पर्दछ । खाना पकाउँदा छुइन्छ भन्नु एकदम नकारात्मक सामाजिक कुरीति हो । सफा सुग्घर भएर भान्छाको काम गर्न सल्लाह छ । पहिलो पल्ट महिनावारी हँुदा नै स्तन वढेनन् भनेर चिन्ता लिएको पाइन्छ । १८–२० वर्षसम्म स्तन बढ्ने प्रक्रिया रहने भएकाले आत्तिनु पर्दैन । महिनावारी हँुदा गोठमा राख्ने, छाउपडी प्रथा सामाजिक कुसंस्कार हुन् । यसलाई हाम्रो समाजमा प्रवेश नै नदिऊ । महिनावारी हुँदा पूजा पाठ गर्दा पाप लाग्छ भन्नु एकदमै गलत धारणा हो ।
समग्रमा
महिनावारी एउटा शारीरिक साधारण प्रक्रिया हो । महिनावारी हुनु भनेको विरामी हुनु होइन वरु तपाई स्वस्थ्य र निरोगी भएको प्रमाण हो ।महिनावारी सुरु भइसकेपछि कुनै पुरुषसँग यौनसम्पर्क भएमा गर्भ रहन सक्छ, त्यसैले किशोरीहरु– होसियार । केटीहरुले आफ्नो पहिलो महिनावारी भएको कुरा आफ्नी दिदी, आमा, भाउजु, गुरुआमाहरुलाई भन्दा आवश्यक सहयोग, सल्लाह प्राप्त हुन सक्दछ । स्कुल तथा +२ हरुमा छात्राका लागि आकस्मिक महिनावारी भएमा सहयोगी वातावरण हुन जरुरी छ ।
0 comments
Post a Comment