
लागुपदार्थ ओसारपसारमा संलग्न गिरोहले नयाँ–नयाँ उपाय निकालेर कारोबार गर्न थालेका छन् । कुरियरको माध्यमबाट पनि चरेसको कारोबार हुने थालेको प्रहरीले फेला पारेको छ । प्रहरीले कुरियरमार्फत जटासहितको नरिवलभित्र चरेस राखेर कारोबार गर्ने काठमाडौंको सीतापाइलामा बस्दै आएका कृष्णप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आइतबार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको छ ।
काठमाडौंको सुन्धारा नागस्थानमा रहेको एयर सुप्रिम कुरियरले आफ्नो कुरियरमा पूजापाठका प्रयोजनका लागि भनी हङकङ पठाउने गरी प्राप्त भएको तीन थान काँचो नरिवलभित्र केही चिज रहेको हुन सक्ने शंका गरी प्रहरीलाई खबर गरेको थियो । कुरियरको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा पठाउन लागिएका नरिवलभित्र ७ सय १४ ग्राम चरेस फेला पारेको थियो । प्रहरीले अभियुक्त श्रेष्ठको डेराबाट थप दुई किलो चरेस, २ सय ग्राम गाँजा र जटासहितको काँचो नरिवल पाँच र जटा नभएको नरिवल ११ थान बरामद गरेको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार सावदले बताए ।

सिन्धुपाल्चोक घर भई काँडाघारी बस्ने गम्भीरमान श्रेष्ठको परिवार नै लागुपदार्थको ओसारपसारमा संलग्न छ । लागुऔषध नियन्त्रण व्युरोका अनुसार श्रेष्ठ परिवारका चारजना अहिले जेलमा छन् । जेल आउने जाने भइरहन्छ, तर उनीहरुले कारोबार छाडेका छैनन् ।
दुई छोरी उर्मिला र सीता गत ३० जेठमा नियन्त्रित औषधि बु्रपेनफिर्न र डाइजेपामसहित पक्राउ परेका छन् । पटक पटक पक्राउ परे पनि छुटेलगत्तै उनीहरु कारोबारमा लाग्ने गरेको प्रहरीले जनाएको छ । लागु औषध सेवन गर्दा एक किशोर छोराको ज्यान गएपनि उक्त दम्पत्तीले पेसा नछोडेको नयाँ पत्रिकामा खबर छ । उक्त दम्पत्तीले ६ वटी छोरीलाई पनि कारोबारमा सामेल गराएका छन् । उनीहरुका छोरीहरुले लागुऔषध केहो भन्ने थाहा नपाउँदै ओसारपसारमा लागेका थिए । जान्ने भएपछि कोहीले बिहे गरी गए पनि दुई छोरीले भने बुवाआमाको बिँडो थाम्दै कारोबारलाई निरन्तरता दिएका थिए । दुई छोरीहरु तेस्रो पटक पक्राउ परेका थिए । उनीहरुको बिहेपछि ज्वाईहरुलाई पनि सोही पेसामा सामेल गराएका थिए । उनीहरुसँगै श्रीमान पनि पक्राउ परेपछि दोस्रो बिहे गरेका थिए । दोस्रो पटकका श्रीमान पनि पक्राउ परेपछि उनीहरुले व्याईफ्रेन्ड बनाउँदै हिँड्न गरेका छन् । उक्त परिवार १२ बर्षदेखि निरन्तर लागूऔषध कारोबारमा सक्रिय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Post a Comment