२४ जेठ, काठमाण्डौं । विघटित संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्यारा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले बिहीबार दिउँसो सप्तरीको ग्रामीण इलाकाबाट उनका हत्यारालाई पक्राउ गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) परशुराम खत्रीले दिएको जानकारीअनुसार पूर्वसभासद् मियाँको हत्यामा संलग्न भएका कारण लहान–५ निवासी मौलवी भन्ने जमिर उल र मियाकै छोरीलाई पक्राउ गरिएको हो ।

हत्यामा संलग्न अन्य व्यक्तिसमेत पक्राउको नजिक पुगिसकेको प्रहरीले बताएको छ । काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हुनाले विस्तृत विवरण सार्वजनिक गर्न प्रहरीलाई अप्ठ्यारो परेको बताइन्छ । दुई अभियुक्त पक्राउ परे पनि हत्यामा सहयोग गर्ने अन्य आरोपी सीमावर्ती क्षेत्र भारतमा भएकाले पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ । ५२ वर्षीय पूर्वसभासद् हकको गत ७ जेठमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । यसअघि प्रहरीले उनको हत्या लुटपाटको मात्रै उद्देश्यले नभएर राजनीतिक कारण रहेको आशंका गरेको थियो । तर, छोरी नै हत्यामा संलग्न भएको पाइएपछि सो कारण केही नरहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
‘प्रारम्भिक बयानमा विवाहको बाधक ठानेको पाइएको छ, पक्राउ परेका व्यक्तिको अवस्था हेर्दा र उनले भनेका मानिसहरू पक्राउ परेपछि मात्र यकिनका साथ भन्न सकिनेछ,’ अनुसन्धानमा संलग्न अर्का अधिकारीले भने । बिहीबार साँझसम्म सप्तरी जिल्ला प्रहरी कार्यालयको टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको टोली भारतमै अन्य अभियुक्तहरूको खोजी गरिरहेको भए पनि उल्लेख्य प्रगतिको खबर नआएको प्रहरीले जनाएको छ । लहान–५ स्थित घरबाटै जमिर उल र उनकी पे्रमिका रहेका मियाँकी छोरी पक्राउ परेलगत्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख खत्री घटनास्थल पुगेका थिए ।
हत्यारा पक्राउ परेपछि सप्तरी नै पुगेका डीआईजी खत्रीले अन्य सम्बन्धित व्यक्ति पक्राउ नपरेसम्म कानुनी अप्ठ्यारो पर्ने भन्दै पक्राउबारे कसैलाई पनि नबोल्न निर्देशनसमेत दिएका थिए । तर, अनुसन्धानमा केही प्रगति भएकाले शुक्रबार अभियुक्त सार्वजनिक गर्ने प्रहरीको योजना छ । प्रहरीले पूर्वसभासद् हकले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिसकेको छ । सोही मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको हो । पूर्वसभासद् हकको शव ७ जेठको बिहानै सप्तरीको कल्याणपुर–२ स्थित हुमा पेट्रोल पम्पभित्र रहेको कोठामा फेला परेको थियो । सो पम्प पूर्वसभासद् हककै नाममा छ । कल्याणपुरकै रामेश्वर साहकी छोरीको बिहेमा स२प ८५८३ नम्बरको मोटरसाइकल चढेर सहभागी हुन अघिल्लो साँझ घरबाट निस्किएका हक भोलिपल्टसम्म नफर्किएपछि चिन्तित बनेका परिवारजनले खोजतलास गर्दा शव फेला परेको थियो ।
विवाहस्थलबाट राति २ बजे नै घर हिँडेको थाहा पाएपछि पिछा गरी हत्या गरिएको पक्राउ परेका अभियुक्तले प्रहरीलाई दिएको प्रारम्भिक बयानबाट खुलेको छ । उनको घाँटी रेटिनुका साथै शरीरको आधा दर्जन भागमा धारिलो हतियारले आक्रमण गरिएको पाइएको थियो । पक्राउ परेका अभियुक्त जमिर उलले आफ्नो अपराध स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
प्रारम्भिक बयानअनुसार उनले प्रेममा बाधक बनेको र मागेजति दाइजो नदिएकै कारण हत्या गरिएको बताएका छन् । पूर्वसभासद् हक पेट्रोलियम व्यवसायका साथै काठ तथा इँटा व्यवसायमा समेत संलग्न थिए । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा उनी सप्तरी–५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिँदै १० हजार ५ सय ३ मत ल्याई निर्वाचित भएका थिए ।
0 comments
Post a Comment