
एचआईभी एड्स तथा लागू पदार्थ सेवन गर्नेहरुलाई लक्षित गरी विगत एक वर्षदेखि यहाँ कार्यरत स्पर्श नेपालका कार्यकारी अध्यक्ष नविनकुमार मल्लिकका अनुसार-अधिकांश एचआईभी संक्रमितहरु भारतको मुम्बै तथा पञ्जावमा काम गरी फर्केका पुरुषहरु छन् । उनीहरुले यो जिवाणु आफ्ना श्रीमतीमा सारेका छन् अनि संक्रमित आमा बूबाबाट जन्मेका सन्तानहरु पनि संक्रमित हुने गरेका छन् ।
जिल्लास्थित एड्स समन्वय समितिको तथ्यांक अनुसार धनुषामा अचेल ५ सय ७७ जना एचआईभी एड्स संक्रमित छन् । तीमध्ये ३सय ४३ पुरुष, २सय ३१ महिला र ३ तेश्रो लिंगी छन् । संक्रमितहरुमध्ये १८ जना बालक तथा ९ जना बालिका गरी २७ बालबालिका छन् ।
मल्लिकका अनुसार एचआईभी एड्स संक्रमितमध्ये ९५प्रतिशत भारतबाट फर्केका पुरुष वा महिला हुन् । खुला सिमानाका कारण आवागमनमा कुनै कठिनाई नहुने हुँदा यो रोग वेरोकटोक साटासाट हुने गरेको मल्लिकले बताए । उनले भारत वा अन्य कुनै मुलुकमा रोजगारी जानु पूर्व नेपाली कामदारहरुलाई एचआईभी सम्बन्धी जानकारी दिनु पर्ने तथा फर्किने वेला नाकामै रगत जाँचको व्यवस्था मिलाउनु पर्ने तर्क अघि सारेका छन् ।
एचआईभीका अर्को कारण सुई मार्फत लागू औषध इन्जेक्ट गर्नु पनि हो तर स्पर्श नेपालले सुई मार्फत लागू पदार्थ इन्जेक्ट गर्ने अम्लीहरुलाई लक्षित गरी सञ्चालन गरेको 'क्षति न्युनीकरण' कार्यक्रम अन्तर्गत सूचिकृत २ सय ७० लागू पदार्थका अम्लीहरुमध्ये एउटैमा पनि एचआईभी संक्रमण नदेखिएको खुलासा पनि मल्लिकले गरे । यस कार्यक्रम अन्तर्गत स्पर्श नेपालले लागू पदार्थका अम्लीहरुलाई नयाँ सिरिन्ज उपलब्ध गराउाने तथा लागू पदार्थ न्युनीकरण गर्न विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
0 comments
Post a Comment