पाँच वर्षअघि रञ्जित बन्जाडेले पश्चिम नेपालभरि कन्डमको व्यापार विस्तार गर्न ३३ लाख रुपैयाँ लगानी गरें। बजार प्रवर्द्धन गर्न बुटवलबाट पश्चिम लागेपछि उनी झस्किए। जुन बजारलाई लक्षित गरेर उनले कम मूल्यका कन्डममा लगानी गरेका थिए, ती साना बजार लगभग शून्य थिए। धेरैजसो लोग्नेमानिस रोजगारीका लागि भारत पुगेको प्रतिवेदन पत्रपत्रिकामा पढेको उनले सम्झिए। सबैजसो लोग्ने मानिस भारत गएका छन् भने कन्डमको प्रयोग कसले गर्छ ? उनी कन्डमको व्यापार नहुने निष्कर्षमा पुगे। तैपनि चीनबाट अर्डर गरिएको कन्डम काठमाडौं आइसकेको थियो। उनले केही रकम काठमाडौंको पार्टीलाई दिइसकेका थिए। बन्जाडे दुःखी हुँदै काठमाडौं फर्किए र ११ लाख रुपैयाँको कन्डम मात्र पश्चिम नेपाल पठाए।
बन्जाडे पुराना व्यापारी हुन्। उनीसँग बालबालिका एवं महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री बेचेको वर्षौंदेखिको अनुभव छ। कन्डमको हकमा भने यस्ता अनुभवि व्यक्तिको अनुमान पनि गलत सावित भयो। उनले पठाएका कन्डम धमाधम बिक्री हुन थाले। कतिसम्म भने ६ महिनापछि नै उनको बजार प्रवर्द्धकले थप कन्डम पठाइदिन आग्रह गरे। 'पहिले त कन्डम कसले किन्यो भनेर म छक्क परेंँ, पछि रहस्य बुझ्दै गएँ।' बन्जाडेले साप्ताहिकसँग भने, 'कन्डम बिक्री हुनुको प्रमुख कारण नै लोग्नेहरू विदेश जानुरहेछ। घरमा लोग्ने नभएकै कारण अरू लोग्ने मानिसलाई धेरैभन्दा धेरै कन्डमको आवश्यकता पर्दै गयो। कन्डमबिना परस्त्रीसँग सम्पर्क गर्न कठीन हुने भएकैले ती कन्डम बिक्री भए।'
झट्ट सुन्दा बन्जाडेको वक्तव्य नेपाली समाजको रीति एवं नीति विरोधी लाग्न सक्छ, तर यो उनले भोगेको तथा देखेको सत्य हो। बन्जाडे अहिले पनि पश्चिम नेपालमा यौनसँग सम्बन्धित सामग्रीको व्यापारमा संलग्न छन्। उनको अनुभवमा पश्चिम नेपालमा प्रत्येक वर्ष कन्डमको खपत बढेको बढ्यै छ। गएको वर्ष उनले बुटवलभन्दा पश्चिममा १ लाखभन्दा बढी कन्डम बेचे। गएको पाँच वर्षको अनुभवमा उनी ढुक्कका साथ भन्छन्, 'प्रत्येक वर्ष लोग्नेमानिस तथा स्वास्नीमानिसहरू विदेश गएका गयै छन्, यस्तो अवस्थामा कन्डमको बिक्री घट्नु पथ्र्यो, तर यो बढेको बढै छ।
कन्डमको बिक्री बढेको निष्कर्ष बन्जाडे एक्लोको होइन। केही समय अघि स्वास्थ्य मन्त्रालयसँग मिलेर एउटा गैरसरकारी संस्थाले गरेको देशव्यापी सर्वेक्षणले पनि नेपालमा गर्भ निरोधक अस्थायी साधनको प्रयोग बढेको निष्कर्ष निकालेको थियो। उक्त सर्वेक्षणले के देखाएको छ भने श्रीमान्-श्रीमती नभए पनि महिला-पुरुषहरू अन्य व्यक्तिसँग संसर्ग गर्न थालेका छन्। त्यसैले पनि उनीहरू गर्भ नरहोस् भन्ने उद्देश्यले अस्थायी साधन प्रयोग गरिरहेका छन्। यस्ता अस्थायी साधनमा कन्डम, पिल्स, तीन महिने सुई एवं गर्भपतन गराउने औषधिहरू छन्।
माग उच्च भएकै कारण अमेरिकी नियोग एवं सरकारी सहयोगमा सञ्चालित सीआरएस कम्पनीका ढाल र प्यान्थरजस्ता ब्रान्डका कन्डम सर्वसुलभ भए पनि निजी कम्पनीहरूले अन्य ब्रान्डका लाखौं कन्डम नेपाल भित्र्याइरहेका छन्। निजी कम्पनीका कन्डममध्ये सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा जापानी कन्डम स्किलेस, कोरियन कन्डम युनिडस, भारतीय कन्डम कोब्रा, ब्ल्याक कोब्रा र यस्तै नाम भएका अन्य विभिन्न कन्डम छन्। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको मेरी स्टोप्सले नेपाल भित्राउने जोडी, फायर तथा एक्टेन्सी ब्रान्डका कन्डम, चीनबाट कच्चापदार्थ ल्याएर भारतमा उत्पादन हुने तृष्णा ब्रान्डका ५ थरिका कन्डम पनि नेपाली बजारमा बढी बिक्री हुने कन्डम मानिन्छन्।
नेपालको कन्डम बजारलाई केही वर्षयता विश्लेषण गरिरहेका बजार प्रवर्द्धक बिजु कपालीका अनुसार चलेका ब्रान्डभन्दा चीनबाट आउने नयाँ-नयाँ ब्रान्डका कन्डम बढी बिक्री हुन्छन्। अन्य सामग्री जस्तै यसममा पनि ब्रान्ड नै खोज्ने चलन छैन। नजिकको पसलमा जुन भेट्यो त्यही प्रयोग गर्ने चलन छ। त्यसमा पनि औषधि व्यवसायीले जुन राम्रो भनेर सिफारिस गर्यो, ग्राहकले त्यही कन्डम बढी किन्छन्। ग्राहकले नामका कारणले भन्दा गुणस्तर एवं आकर्षक कभर भएका कारण नयाँ कन्डम छान्ने गरेका छन्। 'कुन कन्डम कति थान बिक्री हुन्छ ठ्याक्कै भन्न गाह्रो छ।' कपाली भन्छन्, 'तैपनि महिनामा कम्तीमा २ लाख थान कन्डम बिक्री हुन्छ भन्ने कुराचाहिँ सत्य हो।' उनी प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवा-युवती विदेश गए पनि कन्डमको बजार भने नघटेको बरु बढिरहेको कुरा पनि स्वीकार गर्छन्।
कन्डमलाई भन्सार लाग्दैन
वाषिर्क लाखौं कन्डम बिक्री हुने भए पनि नेपालमा एउटा पनि कन्डम उद्योग छैन। कच्चा रबर तथा ३० लाख रुपैयाँ पर्ने मेसिनबाटै सामान्य कन्डम उत्पादन गर्न सकिन्छ। यति हुँदाहुँदै पनि नेपालमा कन्डम उद्योग नहुनुको मुख्य कारण विदेशबाट आयात हुने कन्डमलाई सरकारले भन्सार छुट दिनु हो। विश्व स्वास्थ्य संगठनले यौन रोगबाट बच्न संसारभरि नै कन्डमलाई कर छुट दिने नीति बनाउन राष्ट्र संघलाई निर्देशन दिएको थियो। त्यसैले राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रलाई कम मूल्यमा जनताले कन्डम पाउने वातावरण मिलाउन आग्रह गरेको छ। यही नीतिअनुसार नेपालमा संसारभरिबाट कन्डम आयात हुन्छ। सीआरएस कम्पनी तथा मेरी स्टोप क्लिनिकले अनुदानमा कन्डम भित्र्याउँछन्। केही समयअघि यस्तै अनुदानमा आएको नम्बर वान कन्डम एक रुपैयाँमा बिक्री हुन्थ्यो। यसरी अनुदान पाएका कन्डम बजारभरि भए पनि कन्डमको माग बढिरहेकाले निजी क्षेत्रले पनि लाखौं थान कन्डम बजारमा पठाइरहेका छन्। बजारमा १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्ने कन्डम किन्न पाइन्छ। भन्सार एवं भ्याट दुवै छुट दिइएकाले नेपालमा कति कन्डम भित्रिन्छ, त्यसको लेखाजोखासमेत राखिँदैन। भन्सारमा कन्डम भएको कन्टेनरमा अरू कुनै सामग्री लुकाइएको छ कि भन्ने मात्र हेरिन्छ । व्यवसायीहरूका अनुसार अनुदानका कन्डमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकैले चीन वा तेस्रो मुलुकबाट एकै पटक लाखौं थान कन्डम मगाउनुपर्ने बाध्यता छ। त्यसैले पनि चीन वा तेस्रो मुलुकबाट एकपटकमा कम्तीमा पनि एक ट्रक कन्डम भित्रिने गरेको छ।
कहाँ हुन्छ खपत ?
पहिले कन्डम सौखिनहरूमा सीमित थियो। अहिले कन्डम सर्वसुलभ मात्र छैन, यसले यौन सम्पर्कलाई सुरक्षितसमेत तुल्याएको छ। परिणामस्वरूप देशभरि नै कन्डमको खपतमा वृद्धि भैरहेको छ। कन्डमको खपत अत्यधिक हुनुमा गैरसरकारी संस्थाहरूले गरेको प्रचारले पनि धेरै काम गरेको छ। उनीहरूले गाउँ तथा सहरमा बढ्दो एचआइभी पोजेटिभ संख्यालाई मध्य नजर गर्दै एक दशकअघिदेखि कन्डमको प्रचारमा तिब्रता दिएका थिए। उनीहरूले यौनकर्मीहरूलाई पनि सित्तैमा कन्डम बाडेका थिए। अझै पनि सुरक्षित सम्पर्कका लागि कन्डम नै भरपर्दो माध्यम भएकाले यसको प्रचार-प्रसारमा उनीहरूले करोडौं खर्च गरिरहेका छन्।
मात्राका हिसाबले कन्डम खपत हुने सबैभन्दा ठूलो क्षेत्र काठमाडौं हो। व्यवसायीहरूका अनुसार काठमाडौंमा पनि सबैभन्दा बढी ठमेल, नयाँ बसपार्क, पुरानो बसपार्क तथा सुन्धारा आदि क्षेत्रमा बढी कन्डम बिक्री हुन्छन्। ती क्षेत्रमा सामान्य पान पसलेले पनि कन्डम बिक्री गर्छन्। कन्डम बिक्री गरेरै जीवन निर्वाह गर्ने युवाहरू उक्त क्षेत्रमा दर्जनौं भेटिन्छन्। कन्डम बिक्रीका साथै यौनकर्मीसँग सम्पर्क गराइदिने कार्य गर्ने भएकाले उनीहरू त्यसबाट सजिलै जीवनयापन गरिरहेका छन्। काठमाडौं बाहिर भने पोखराको लेकसाइड, धरानको बसपार्क, वीरगन्ज, नारायणगढ, बुटवल तथा पूर्व इटहरीमा निजी व्यवसायीहरू आफ्ना कन्डम बेच्न प्रतिस्पर्धा गरिरहेका भेटिन्छन्। काठमाडौंभित्र र बाहिरका ती क्षेत्रमा मात्र दैनिक २० लाख रुपैयाँको कन्डम बिक्री हुने अनुमान सम्बन्धित व्यवसायीहरूको छ। अहिले केही व्यवसायी कन्डम बढी खपत हुने क्षेत्रमा कन्डम मेसिन राख्ने योजना पनि बनाइरहेेका छन्। कन्डम मेसिनमा पैसा राखेर बटन थिच्ने बित्तिकै एटीएम मेसिनबाट पैसा निस्किए जस्तै कन्डम निस्कन्छ। थाइल्यान्ड आदि केही देशका रेडलाइट क्षेत्रमा त्यस्तो व्यवस्था देखेका व्यवसायीहरूले पहिलो चरणमा बढी बिक्री हुने क्षेत्रमा कन्डम मेसिन राख्ने सोच बनाएका हुन्।
कन्डममा ब्रान्ड खोज्ने चलन छैन
बिजु कपाली, बजार व्यवस्थापक
नेपालमा कन्डमको व्यापार कस्तो छ ?
प्रत्येक वर्ष यसको व्यापार बढिरहेको छ। ७ वर्षको मेरो अनुभवमा पहिले सीमित ब्रान्डका कन्डम पाइन्थ्यो, अहिले सयौं ब्रान्डका कन्डम भित्रिरहेका छन्।
लोग्ने मानिसहरू अझ अहिले त महिलाहरू पनि वैदेशिक रोजगारीमा गैरहेका छन्, यसले त कन्डमको बिक्री घट्नु पर्ने होइन र ?
झट्ट हेर्दा त्यस्तो लाग्छ। व्यापारीहरूसँग सोध्ने हो भने आफ्नो व्यापार खस्किएको बताइरहेका छन्, तर बुझ्नु पर्ने कुरा के हो भने पहिले एक-दुई सरकारी तथा निजी संस्थाले कन्डम ल्याउँथे। अहिले दर्जनौं व्यापारी यसमा संलग्न छन्। जापान, कोरिया, बंगलादेश, भारत र चीनबाट कन्डम आउन थालेका छन्। धेरै व्यापारीले ट्रक नै रिजर्भ गरेर कन्डम भित्राउने चलन बढेकाले पनि यसको बिक्री बढेको अनुमान गर्न सकिन्छ। भन्सार छुट प्रदान गरिने भएकाले बाहिर कसैलाई पनि नेपालमा कति कन्डम भित्रिन्छ, जानकारी हुँदैन।
गर्भ निरोधसँग सम्बन्धित अन्य उत्पादनको अवस्था कस्तो छ ?
कन्डमको बिक्री बढे पनि त्यो थोरै प्रतिशतले मात्र बढेको देखिन्छ भने पि्रग्नेन्सी हुन नदिने पिल्स, पि्रग्नेन्सी टेस्टर तथा गर्भपतन गराउने औषधिको बिक्री सयौं गुणाले बढिरहेको छ। त्यस्ता गर्भ निरोधकको पनि मासिक लाखौं रुपैयाँको कारोबार हुन्छ।
कुन ब्रान्डका उत्पादन बढी बिक्री भैरहेका छन् ?
कन्डममा ब्रान्ड खोज्ने चलन उति हुँदैन। पसलले जुन कन्डमलाई राम्रो भन्यो, त्यही ब्रान्ड बढी चल्छ। रजिस्टर्ड गरिएका भन्दा आय कर नतिर्ने उद्देश्यका कारण रजिस्टर्ड नभएका कम्पनीका कन्डम तथा अन्य गर्भ निरोधक सामग्री बढी नाफा दिएर पसलेलाई बिक्री गर्ने चलन छ। फाइदा हुने भएकैले पसलेहरूले पनि त्यस्तै सामग्री बेच्न जोड दिन्छन्।
समाज परिवर्तन भैरहेको छ
करुणा कुँवर, यौन मनोविश्लेषक
धेरै लोग्नेमानिस वा स्वास्नी मानिस विदेश गए पनि गर्भनिरोधसँग सम्बन्धित सामग्रीको बिक्री बढिरहेको पाइयो, यसको कारण के होला ?
नेपाली समाज पहिलेभन्दा धेरै खुला भैसकेको छ। यौनका विषयमा नेपाली महिला तथा पुरुषहरू उदार भैरहेका छन्। गैर सरकारी संस्थाहरूले अस्थायी साधनको बारेमा गरेको अत्यधिक प्रचार ले पनि कन्डम लगायतका सामग्री बढेको हो ।
यौनइच्छा दबाउन नचाहनु र अस्थायी साधनको बिक्री बढ्नुबीच के सम्बन्ध छ ?
ठूलो सम्बन्ध छ। श्रीमान्-श्रीमतीसँगको सम्बन्धमा अस्थायी साधन अपरिहार्य हुँदैन। किनभने गर्भ बस्यो भने त्यो सहज स्वीकार्य हुन्छ। बाहिरी व्यक्तिसँगको सम्बन्ध भने सुरक्षित हुनुपर्छ। किनभने त्यस्तो सम्पर्कमा माया बसेकै हुनुपर्छ भन्ने छैन। साधारण चिनजानकै आधारमा पनि त्यस्तो सम्बन्ध स्थापित हुन सक्छ तर माया नहुन सक्छ।
यौनसम्बन्धी सामाजिक आचरण परिवर्तन भएकोमा कतिपय व्यक्ति दुःखी छन्, उनीहरूलाई के भन्नुहुन्छ ?
पहिले पुरुषहरू यौनकर्मीकहाँ पुग्थे, नेपाली समाजले त्यसमा त्यति चिन्ता गरेको देखिँदैनथ्यो जब महिलाहरूको सम्बन्ध अन्य तर्फ पनि हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन थाल्यो, कतिपय मानिसको चिन्ता सुरु भयो। यो एकपक्षीय चिन्तन हो।
कन्डम जस्ता अस्थायी गर्भ निरोधक साधनको बिक्री बढेको तथ्य बाहिर आएपछि तपाईंले विश्लेषण गरेको मुख्य पक्ष कुन हो ?
म नेपाली समाज बिगि्रयो भन्ने पक्षमा छैन, परिवर्तनचाहिँ हुन थालेको हो। यो तथ्यले के संकेत गर्छ भने नेपालीहरू अस्थायी साधनको प्रयोगमा सचेत भैरहेका छन्। विशेषतः महिलाहरू आफ्नो शारीरिक अवस्थालाई महत्वपूर्ण मान्न थालेका छन् र अस्थायी साधन प्रयोग गर्नुपर्छ भन्ने चेतना बढेको छ र यो सकारात्मक कुरा हो।
कन्डमको फोहोर व्यवस्थापनमा समस्या
कन्डमको माग बढ्दै जाँदा यसको प्रयोगपछि बढेको फोहोरको व्यवस्थापनमा पनि समस्या देखिएको छ। बाटोघाटो एवं सार्वजनिक स्थलहरूमा प्रयोगपछि जथाभावी फ्यालिएका कन्डम देखिने गरेका छन्। त्यस्ता कन्डम खाली जग्गा, झाडी एवं फोहोरका थुप्रादेखि लिएर मानिस हिँड्ने सडकसम्म यत्रतत्र पाइन्छन्। 'घरको फोहोर राख्ने भाँडोमा कण्डम फाल्न गाह्रो हुन्छ। यस्ता कन्डम घरका अन्य सदस्यले देख्ने हुँदा बाहिर एकान्तमा फ्याल्नु बाध्यता बन्ने गरेको छ।' गएको वर्ष विवाह गरेका एक युवकले साप्ताहिकसँग भने, 'प्रयोगपछि कागजमा पोको पारेर राख्छु, बिहान अफिस जाँदा बाटोमा फालिदिन्छु।' प्रयोग भएको कन्डम व्यवस्थापन गर्न गाह्रो हुने यस्ता हजारौं पुरुष छन्, यद्यपि कन्डम कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी नहुँदा बाटो, झाडी एवं खाली जग्गा एवं फोहोरका थुप्रामा प्रयोग गरिएको कन्डम जतासुकै देखिने गरेका छन् जसले सर्वसाधारणमा अप्ठेरो मात्र सिर्जना गरेको छैन एउटा खराव संस्कृतिको पनि विकास गरिरहेको छ।
पि्रग्नेन्सी टेस्ट र इमेरजेन्सी पिल्स पनि उस्तै
कन्डमको बिक्री जुन गतिमा बढिरहेको छ, त्योभन्दा बढी पि्रग्नेन्सी टेस्टर र इमर्जेन्सी पिल्सको खपत बढिरहेको छ। पाँच वर्षअघि बजारमा फाट्टफुट्ट मात्र देखिने पि्रग्नेन्सी टेस्टर तथा इमर्जेन्सी पिल्स अहिले सबैजसो औषधि पसलमा पाइन थालेको छ। व्यवसायीहरूका अनुसार काठमाडौं बजारमा मात्र मासिक ५० हजार थान पि्रग्नेन्सी टेस्टर बिक्री भैरहेको छ। कन्डम प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भ बस्यो कि भन्ने डरका कारण यस्ता सामग्रीको बिक्री बढिरहेको हो।
यौनसम्पर्क राखेको तीन दिनपछिसम्म प्रयोग गर्न मिल्ने इमर्जेन्सी पिल्सको प्रयोग पनि अत्यधिक छ। कन्डम प्रयोग गर्दा सोचेजस्तो आनन्द नआउने धारणाका कारण बिना कन्डम यौन सम्पर्क राख्ने चलन बढेको हो। यौन सम्पर्क राख्दा गर्भ रहेको शंका लागे त्यसको ३ दिनसम्ममा यो औषधि खाँदा समस्या टर्छ। त्यसैले पनि यस्ता पिल्सको खपत प्रत्येक वर्ष दुई गुणाका दरले बढिरहेको व्यवसायीहरूको अनुभव छ। व्यवसायीहरूका अनुसार काठमाडौंमा मात्र मासिक १ लाख थान इमर्जेन्सी पिल्स बिक्री हुन्छ। यस्ता पिल्स सीआरएस कम्पनीमार्फत बिक्री वितरण हुनुका अतिरिक्त भारत, बंगलादेश एवं चीनबाट आयातसमेत हुने गरेका छन्। स्वास्थ्यकर्मीको सिफारिसमा मात्र प्रयोग गर्ने जानकारी राखिए पनि बिना पे्रस्क्रिप्सन इमर्जेन्सी पिल्स प्रयोग गर्ने युवतीहरूको सङ्ख्या बाक्लै छ। कतिपय कलेज छेउका औषधि पसलबाट यस्ता पिल्स बढी बिक्री हुने कारणले भर्खरका युवतीहरूले यसलाई अस्थायी साधनकै रूपमा प्रयोग गर्न थालेको देखिन्छ।
सबैभन्दा खतरनाक प्रवृत्ति मिफेप्रोस्टन एवं मिजोप्रोस्टको प्रयोगमा देखिएको छ। चिकित्सकहरूका अनुसार यी औषधिको प्रयोगले महिलाको पेटमा रहेको ९ सातासम्मको गर्भ पतन हुन्छ। चिकित्सकको सहयोगबिना नै घरमै यो औषधि प्रयोग गरेर समस्याबाट मुक्ति पाइने भएकाले यस्ता औषधिको बिक्री बढिरहेको बताइन्छ। काठमाडौंमा उक्त औषधि मासिक २० हजार थान बिक्री भैरहेको अनुमान छ।
0 comments
Post a Comment