१६ असार, भक्तपुर । महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकालले नेपालमा अहिले करिब ९२ हजार युवायुवती लागुऔषधका प्रयोगकर्ता रहेका बताउनुभएको छ ।
भक्तपुरमा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा गरिएको लागुऔषध विरुद्धको प्रशिक्षण गोष्ठीको उद्घाटन गर्दै ढकालले आफ्नो छरछिमेकमा जनचेतनामूलक कार्यक्रम गर्दै आफ्ना कलिला सन्तानलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । समाजमा लागुऔषध प्रयोगकर्ताले अरुको लहलहैमा लागेर लागुऔषधको प्रयोग गर्ने भएकाले आफ्ना सन्तानहरुको क्रियाकलापमा पनि अभिभावकले निगरानी राख्नुपर्ने उल्लेख गर्दै ढकालले उनीहरुको आनीबानी र दैनिक क्रियाकलापमा समेत निगरानी गर्न जरुरी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले भक्तपुरमा १२ देखि २८ वर्ष उमेर समूहका मानिस लागुऔषधको कुलतमा लागेको बताउनुभयो । रासस
(राससको बुलेटिनमा ९२ लाख युवायुवती लागुऔषधका प्रयोगकर्ता भनिएको छ । तर, ढकालले ९२ हजार मात्र भनेको पाइएकाले सच्याएका छौं । –स)
0 comments
Post a Comment