शंकर धामी
दार्चुला – मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो ।
बाढी अहिले घटिसकेको छ तर बाढी प्रभावितको पीडा उस्तै छ । सँगसँगै दार्चुलामा मात्रै नभई धेरै नेपालीहरुमा महाकालीमा बाढी किन र कसरी आयो भन्ने जिज्ञासा उठेको छ ।
महाकालीमा असार २ गते बेलुकीदेखि बाढी आएको हो । म दार्चुला प्रहरी प्रमुख डिएसपी कुवेर कडायतसँग जेठ २८ गते खलंगाबाट त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यास गाविसको छाङरु र तिंकरसम्म गएको थिएँ ।
बाढी आउनुभन्दा दुई दिन अघि मात्रै हामी महाकालीको किनारैकिनार भएर व्यासबाट दार्चुला फिर्ता भएका थियौ । महाकाली नदी किनार क्षेत्रको अवलोकन र सदरमुकाम खलंगामा ७–८ वर्षको वसाई अनुभवका आधारमा बाढी आउनुको कारणबारे लेख्न लागेको हुँ ।
१. निरन्तरको वर्षा
यो वर्षा यति क्रूर भइदियो कि धौलिगंगाभन्दा माथिको भारतीय बस्ती सोबला र कल्चौतीमा चार दर्जनभन्दा बढी घरहरु बगे ।
पहिरो गयो, वर्षाले पहिरो निम्त्यायो, पहिरोले धौलीगंगाको सतह बढायो र बाढीको रुप लियो । त्यतिमात्रै होइन, सदरमुकाम खलंगामा पनि असार १ गते साँझदेखि लगातार असार ३ गते दिउसोसम्म पानी परेको थियो ।
२. भारतको धौलिगंगाको बाँध
भारतले ८ वर्षअघि निर्माण गरेको २ सय ८० मेगावाट क्षमताको धौलिगंगा जलविद्युत परियोजनाको बाँधस्थल दार्चुलासँगै जोडिएको भारतीय बजार धारचुलाबाट करिब २० किलोमिटरको दूरीमा पर्छ ।
बाँधमा अनपेक्षित रुपमा सोबला र कल्चौती क्षेत्रबाट आएको पहिरो र बाढीले असर पु¥यायो । जसका कारण धौलिगंगाको बाँधबाट छोटो समयमा बढी मात्रामा पानी छोड्न त्यहाँका कर्मचारी बाध्य भए । धेरैले बाँध फुट्ने अवस्थाका कारण पानी धेरै छोडिएको बुझेका छन् ।
जुन स्वाभाविक पनि हो, ५४ मिटर अग्लो बाँध, जहाँ ९ लाख क्युसेक पानी स्टोरेज भएको छ, यो एकैपटक फुटेको भए दार्चुला र महाकाली पारीको धारचुला सुरक्षित रहने थिएन । तर भारतीय पक्षसँग हामीले गर्नैपर्ने गुनासो वा उठाउनै पर्ने विषय के हो भने उसले सूचनामा हामीलाई ठगेको छ । भारतीय पक्षले असार ३ गते दिउँसो ‘धौलिगंगाको बाँधबाट बढी पानी छोडिदैछ, होसियारी अपनाउनुहोला’ भनेर नेपाली पक्षलाई खबर गरेको थियो । तर असार २ गते एकाएक महाकालीमा पानी बढेकोबाट स्थानीयस्तरमा सबैले प्रष्ट बुझेका छन्, धौलिगंगा बाँधको पानी असार २ गते बेलुकीनै छोडिएको थियो ।
भारतीय पक्षले असार ३ गते दिउँसो धौलिगंगाको बाँधबाट पानी छोड्ने जानकारी गराउदा झन त्रास फैलियो । असार २ गते रातीदेखि ३ गते विहानसम्म आइपुग्दा दर्जनौ घर बगाइसकेको थिउो ।
धौलिगंगाको पानी अझै छोडिदैछ रे, बाँध नै फुट्न लागेको हो कि भन्ने जस्ता सन्त्रासका खबर र आशंकाले स्थानीय झन भयभीत र त्रसित बने ।
२ गते राती नै धौलिगंगाको बाँधबाट पानी छोड्दा नदी बढेको हो भन्नेहरु पनि आफ्नो बुझाइ गलत भएको र ३ गते दिउँसो पो बाँधको पानी छोडिन लागेको, यसले अब सिंगो दार्चुलालाई नै बाँकी राख्दैन कि भन्ने त्रासमा परे ।
३. भारतीय क्षेत्रमा बनेको सडक
महाकाली किनारैकिनार भारतले कालापानीसम्मको सडक निर्माण थालेको छ । धारचुलादेखि ४० किलोमिटरसम्मको दूरीसम्म नदी किनारैकिनार यातायात सञ्चालनमा समेत छ ।
तर यस क्षेत्रमा सडक निर्माण र चौडा बनाउने काम एकसाथ भइरहेको छ । जहाँ ठूल्ठूला चट्टान फुटाउने काम पनि भइरहेको छ ।
विस्फोटक पदार्थ प्रयोग गरी ठूल्ठूला चट्टान फुटाउदा महाकाली नदी किनार ढुंगा र माटोले भरिएको थियो । लगातार पानी पर्दै गएपछि नदीको सतह बढेर ती ढुंगा र माटोको भाग एकसाथ बगाएर ल्यायो ।
यसले नदीको आयतन बढायो र वाढीले ठूलो आकार लियो । यसले नदी किनार छेउका भागहरु भत्काउन थाल्यो र विनाश निम्त्यायो ।
४.भारतले बनाएको पक्की तटबन्ध
दार्चुला बग्नुको अन्तिम र महत्वपूर्ण कारण हो– भारतीय पक्षले धारचुला क्षेत्रमा बनाएको पक्की तटबन्ध । सबैले देखे जानेकै कुरा हो, भारतले नेपाल भारत जोड्ने झोलुङ्गे पुल छेउतिर महाकाली किनारमा पक्की तटबन्ध निर्माण गरेको छ ।
झट्ट हेर्दा गाडी पार्किङ निर्माण गरेजस्तो, मनोरञ्जनस्थल (पार्क) निर्माण गरेजस्तो, अनि हिड्ने बाटो निर्माण गरेजस्तो । तर वास्तवमा त्यो तटबन्ध र स्पर निर्माण थियो । यसबारे नेपाली पक्ष जानकार नभएको होइन । तर हाम्रो के नै चल्छ र ?
अन्तर्राष्ट्रिय सीमा नदीमा तटबन्ध वा कुनै पनि संरचना निर्माण गर्दा दुबै पक्षको सहमति चाहिन्छ र एकसाथ दुबैतर्फ संरचना निर्माण गर्नुपर्छ भन्ने एकजना सुरक्षा अधिकारीले बताएका थिए केही वर्षअघि । तर यहाँ त्यो देखिएन । भारतले एकतर्फी तटबन्ध र स्पर निर्माण गर्दा हामी टुलुटुलु हेरेर बस्यौ ।
नेपाली पक्षले स्थानीयस्तरमा भारतीय पक्षसंग यसबारे छलफल गरेर रोक्नसक्ने अवस्था थिएन । जिल्लाका प्रशासन र सुरक्षा प्रमुखहरुले गतवर्ष भएको नेपालगञ्जको क्षेत्रीय सुरक्षा सम्मेलनमा यो कुरा उठाएका थिए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि अधिकारीले जिल्लाका विभिन्न कार्यक्रममा भारततर्फ पक्की तटबन्ध बनेको, नेपालतर्फ भने नदी किनारको संरक्षण नभएको प्रसंग उठाउने गर्थे ।
नदी किनारमा ढुंगा, गिट्टी निकाल्न प्रतिबन्ध लगाउनुपर्छ, स्थानीय र राजनीतिक दलबाट यसमा सहयोग हुनुपर्ने भन्ने अधिकारीको भनाई थियो ।
तर प्रजिअ अधिकारीको आवाज न जिल्लास्तरमा सुनियो, न त क्षेत्रीय सुरक्षा सम्मेलन गर्ने गृहमन्त्री, गृहसचिव वा सुरक्षा निकायका प्रमुखले सुने । अथवा सुने पनि एक कानले सुने पनि अर्को कानले उडाए ।
दार्चुला बग्नुका यी चार वाह्य कारण बताइरहदा एक–दुई आन्तरिक कारण पनि खोतल्नैपर्ने हुन्छ । वास्तवमा महाकालीले यस्तो विनाशकारी रुप धारणा गर्ला भनेर कसैले पनि सोचेका थिएनन् । त्यही भएर प्रजिअले यसबारे प्रसंग निकाल्दा कतैबाट वास्ता भएन ।
सम्भावित खतराको सही आँकलन नगरिदा र त्यसबारे सतर्कता नअपनाईदा यस्तो दुघर्टना व्यहोर्नुपरेको हो । त्यसकारण सम्भावित खतराको सही आकलन गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो भने भारततर्फ पक्की तटबन्ध र स्पर बनाएको ठिक वारीपट्टी दैनिक सयौं कट्ठा गिट्टी र बालुवा संकलन गर्नु र गर्न दिनु अर्को भूल हो ।
खलंगाको घाटबजारदेखि नदी किनारैकिनार बनाइएको दार्चुला तिंकर सडकले सुरक्षा गर्छ भन्ने धेरैको बुझाइ थियो । महाकालीले यति ठूलो रुप लिने होइन, लिए पनि रिङ्नेतालको दलित एवं सुकुम्बासी वस्ती न हो खतरामा पर्ने भन्ने धेरैको बुझाइ थियो ।
त्यसमाथि यो वर्ष घाटबजारदेखि लास्कुखोलासम्म महाकाली किनारैकिनार तारजालीसहितको पर्खाल र सडक निर्माणले सम्भावित खतरालाई झन छोपेको थियो । तर प्रकृतिसंग कस्को के नै लाग्छ र ? अकल्पनीय र अनपेक्षित रुपमा महाकाली उर्लियो ।
हाम्रा बुझाई, प्रयास र सावधानी सबै गलत सावित भए र यत्तिको ठूलो क्षति व्यहोर्नुपर्यो ।
0 comments
Post a Comment